islami sangh nepal
Sec Bottom Mockup

४ दिने शैक्षिक जागरण कार्यक्रम सम्पन्न


काठमाडौं २७, कार्तिक
    इस्लामी संघ नेपालले वामी (World Assembly of Muslim Youth) को सहयोगमा नेपालभरिका विभिन्न इस्लामिक जमातका उलेमाहरुको शैक्षिक जागरणको लागि चार दिने
सम्मेलनको समुद्घाटन समारोह नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भयो । माननीय सुचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुद्घाटन समारोहमा माननीय शिक्षा राज्यमन्त्री धनमाया वि.क. (खनाल), माननीय पूर्व मन्त्रीहरु, माननीय सांसदहरु, नेपालका लागि साउदी अरबका राजदूत अब्दुल नासेर बिन हुसैन अलहारसी, समाज कल्याण परिषद्का सदस्य सचिव डिल्ली प्रसाद भट्ट, वामी रियादका प्रतिनिधिहरु डा.अब्दुल मुहसिन अज्जकरी, डा. अहमद अल–फुहेद र डा. अब्दुल मोहसिन बिन बाज, मुस्लिमहरुका विभिन्न धार्मिक तथा समाजिक संघसंस्थाहरुका जिम्मेवारहरु तथा प्रतिनिधिहरु र मुस्लिम विद्वानहरुको भव्य उपस्थिती रहेको थियो । उक्त समुद्घाटन कार्यव्रम इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष मौलाना खुर्सीद आलम इस्लाहीको अध्यक्षतामा भएको थियो । मौलाना नजरुल हुसेनले संयोजन गर्नुभएको उक्त कार्यव्रम इरफान पोखरेलले संचालन गर्नुभएको थियो ।
    कार्यक्रम संयोजक मौलाना नजरुल हसेनले अवधारणा पत्र प्रस्तुत गर्दै मुस्लिम समुदाय शिक्षाको क्षेत्रमा दलितभन्दा पनि बढि पिछिडिएको कटु सत्य उल्लेख गर्दै यसका कारण र समाधानका उपायहरुको बारेमा आफ्नो विचार राख्नु भयो । मुस्लिम समुदायप्रति सरकारको विभेदकारी नीतिलाई उहाँले आलोचना गर्दै इस्लामी संघ नेपालले यसका लागि मदरसा र स्कुलहरुको स्थापना गर्नुको साथसाथै शैक्षिक जागरण अभियानहरु चलाउँदै आएको कुरा भन्नुभयो । यसको साथै मुस्लिमहरुलाई शिक्षा प्राप्त गर्नुमा भाषाको समस्या रहेको उल्लेख गर्दै उहाँले छुट्टै भाषा आयोग स्थापना गरेर लोक सेवा आयोगको परीक्षा समेत मातृभाषामा दिन पाउनु पर्ने मुद्दा उठाउनु भयो । 
    कार्यक्रमका प्रमुख अतिथि माननीय सुचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले प्रजातन्त्रको अनुभुति अहिलेसम्म मुस्लिम समुदायले गर्न नसकेको बताउनु भयो । प्रजातन्त्र भनेको देशका सम्पूर्ण जनताले कुनै भेदभाव बिना राज्यको नागरिक हुनुपर्ने अनुभुति गर्न सक्नु हो । तर अझैं पनि मुस्लिम, दलित, महिला, मधेसी जनजातीहरुले प्रजातन्त्रको अनुभुति गर्न नपाएको भन्दै उहाँले दुःख पोख्नुभयो ।
    त्यस्तै सांसद मुख्तार अहमद ज्यूले शिक्षाका औपचारिक, अनौपचारिक, वैकल्पिक, धार्मिक स्कुल जस्ता शिक्षाको विभिन्न किसिमहरुको व्याख्या गर्दै मदरसा शिक्षाको महत्व आंैल्याउनु भयो । साथै मदरसा बोर्ड कमिटीको गठनमा सरकारको रवैयाप्रति असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले नेपालका ७ वटै प्रदेशमा एउटा–एउटा सुविधा सम्पन्न आधुनिक मदरसाको स्थापना गर्नुपर्ने विचार राख्नुभयो । 
    पूर्व गृहराज्य मन्त्री रिजवान अंसारी ज्यूले इस्लाममा शिक्षाको महत्वबारे जिकिर गर्दै आज मुस्लिम समुदायहरु शिक्षामा मात्रै नभई राजनीतिक, समाजिक, आर्थिक लगायत हरेक क्षेत्रमा पिछिडिएको कुरा उल्लेख गर्दै यसको समाधान तर्फ लाग्न मुस्लिम अगुवाहरुलाई आव्हान गर्नुभयो । 
    जामिया सेराजुल उलुम अस्सलफियाका महासचिव मौलाना शमिम अहमद नद्वीले सर्वसधारण मानिसहरुमा मुस्लिम र इस्लामप्रति शिक्षाको दृष्टिकोण संकिर्ण रहेको उल्लेख गर्नुभयो । इस्लामको स्वर्णयुग शिक्षाको कारणले नै थियो र आज पनि केवल शिक्षाको विकासद्वारा नै फेरी हामी त्यस युगमा पुग्न सक्छौं । 
    वामी रियादबाट पाल्नुभएका डा. अब्दुल मोहसीन अज्जकरीले नेपालको सुन्दरता र यहाँको जनताको इमानदारीताको प्रसंशा गर्दै नेपालमा भएका स्रोत र साधनको समुचित सदुपयोग गरी देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्ने बताउनुभयो । त्यसका लागि नेपालको जनशक्तिलाई सिप र तालिम मूलक शिक्षा सहुलियत दरमा उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने कुरामा जोड दिनु भयो । 
    वामी नेपालका कन्ट्री डाइरेक्टर डा. शमिम अहमदले वामीको परिचय गराउँदै वामी नेपालले युवाहरुलाई लक्षित गरी विभिन्न सिपमूलक तालिमहरु प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर लागिरहेको जिकिर गर्नुभयो । समाजमा रहेका अधिकांश अभिभावकहरु आफ्नो बालबच्चाको भविष्य उलेमाहरु जस्ता समाजका अगुवाहरुलाई सुम्पिने हुँदा त्यसको चौतर्फी विकासको जिम्मेवारी उलेमाहरुले लिनु पर्ने कुरामा जोड दिनुभयो ।
    साउदी अरेबियाका राजदुत अब्दुल नासेर बिन हुसैन अल हारसीले नेपालप्रति आफ्नो सदैव सकारात्मक तथा आत्मिक सम्बन्ध रहेको जिकिर गर्नुभयो । साथै नेपाललाई हरेक क्षेत्रमा आफूले सक्दो सहयोग गरिरहेको उल्लेख गर्नुभयो । यसै क्रममा हरेक वर्ष २० जना नेपाली विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइरहेको कुरा बताउनुभयो । इस्लाम र आतंकवादमा कुनै सम्बन्ध नभएको स्पष्ट गर्दै यस्ता मानव जातिका लागि कलंकका रुपमा रहेका अतिवादी समूहहरुसँग मिलेर लड्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले हालै साउदी अरबियाको  मक्कामा अवस्थित मुस्लिमहरुको पवित्र स्थल काबालाई लक्षित गरि भएको हमलाको समेत भत्र्सना गर्नुभयो ।
    माननीय सांसद जाकिर हुसैनले आफ्नो मन्तव्य राख्दै मुस्लिमहरुमा योग्यताको कमिले गर्दा देश सञ्चालन गर्नका लागि असम्भव भएको जिकिर
गर्दै आफूमा योग्यताको विकास गर्नुपर्ने र त्यसका लागि प्राविधिक शिक्षाको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
    केन्द्रिय हज समितीका अध्यक्ष ताज मुहम्मदले यस्ता शैक्षिक जागरणका कार्यक्रमहरु गाँउदेखि शहरसम्म हरेक क्षेत्रमा गर्नुपर्ने कुरा बताउनुभयो । मुस्लिमहरु अब समान्य खर्चको चन्दा नमागेर नेपालको हरेक प्रदेशमा प्राविधिक विश्वविद्यालय खोली दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा जोड दिनु भयो । 
    आफ्नो मन्तव्य राख्दै पूर्व राज्य मन्त्री हकिकुल्लाह खानले संसारिक र पारलौकिक जीवनको सफलताको मूलसुत्र शिक्षा नै रहेको कारणले गर्दा शिक्षाको विकासमा हामीले सबै मिलेर साथ दिनुपर्ने कुरामा जोड दिनुभयो ।
    मानननीय शिक्षा राज्य मन्त्री धनमाया वि.क. खनालले आजको आधुनिक युगमा शिक्षा मानिसको आधारभूत आवश्यकताको रुपमा स्थापित भइसकेकोले शिक्षा सबैको पहुँचमा हुनुपर्ने कुरामा जोड दिनुभयो । मुस्लिमहरु राज्यका हरेक निकायमा पछाडि रहेको कारणले गर्दा देशमा समावेशि र समानुपातिक रुपमा स्थापित हुन नसकेको हो । राज्यको एजेन्डा
देशमा बिना भेदभाव सबै जनतालाई दक्ष जनशक्तिमा रुपान्तरण गर्नु रहेको उहाँले बताउनुभयो ।
    कार्यक्रम समापनको क्रममा इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष तथा सभाध्यक्ष खुर्सीद आलम इस्लाहीले सबैलाई धन्यवाद दिँदै इस्लामी संघले यस कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताउनुभयो । सबै मुस्लिम समुदाय शिक्षाको लागि एकजुट हुनुपर्ने र संसारको सबै किसिमका फलदायी ज्ञान र सिपहरु हासिल गरी त्यसलाई
मानवजातिको विकासमा सदुपयोग गर्नुपर्ने कुरालाई स्पष्ट पार्नुभयो । साथै आजको यो दिनको ऐतिहासिक महत्व रहेको जिकिर गर्दै हामी सबै समाजका अभिभावक र शिक्षकहरु शिक्षाको विकासमा नयाँ जोस र जाँगरका साथ लाग्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
    उक्त उद्घाटन समारोहमा २१० जनाको उपस्थिती रहेको थियो । कार्तिक २७ गतेदेखि ३० गतेसम्म चलेको सो ४ दिने सम्मेलनको अन्तिम दिन सम्मेलनमा सहभागी ९४ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Sec Bottom Mockup
العربية English