Updates > एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Education & Information
2017-01-14

    काठमाण्डौ २०७३ साल पौष १६ गते शनिवार । ह्युमेन डेभलभमेन्ट एकेडेमिद्वारा बागबजार, काठमाण्डौमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । विशेषगरी मुस्लिम महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रमको शुरुवातमा हफ्सा खानले कुरआनको पाठ र त्यसको अर्थलाई सबै सहभागीहरु सामु प्रष्ट पार्नुभयो । त्यसपछि ह्युमेन डेभलभमेन्ट एकेडेमीका अध्यक्ष ईरफान पोखरेलले स्वागत मन्तव्य राख्नुभयो । उहाँले आफ्नो मन्तव्यमा सर्वप्रथम ईमान (आस्था) को महत्व दर्शाउदै यो संसारको धनसम्पत्ति र सन्तानको औचित्य नभएको र मृत्युपछि हामीसँगै जाने चिज मात्र हाम्रो ईमान हो भनेर उहाँले भन्नुभयो । यसका साथै ह्युमेन डेभलभमेन्ट एकेडेमी (हुदा) ले दिदै आएको इस्लामी शिक्षा र सुविधाको बारेमा पनि खुलस्त पार्नु भयो । इस्लामी शिक्षा लिन नपाईरहेका जो कोहीले पनि यस ह्युमेन डेभलभमेन्ट एकेडेमिमा आएर निशुल्क पठनपाठनको सुबिधा लिन सक्ने कुरा उहाँले उपस्थित सबैलाई जानकारी गराउनुभयो ।
    त्यसैगरी इस्लामी संघ नेपालका पुर्वाध्यक्ष र अलहेरा एजुकेशनल सोसाइटीका महासचिव रहनुभएका मौलाना गुलाम रसुल फलाहीले इस्लामी आस्था, परलोकमाथि आस्था र यसको फाइदाको बारेमा उक्त कार्यक्रममा सहभागी सबैलाई आफ्ना गहकिला भनाईहरु राख्नु भयो । उहाँले उक्त कार्यक्रममा इस्लामी आस्थाको बारेमा विस्तृत व्याख्या विश्लेषण गर्नुभयो र त्यसका साथसाथै इस्लामिक आस्था अन्तर्गत रहेका परलोकमाथि आस्थाको बारेमा बताउदै उहाँले मृत्युपश्चातको जीवनको सफलताका लागि यो संसारिक जीवनमा नै हामीले पुर्वतयारी गर्नुपर्ने कुरामा प्रकाश पार्नुभयो ।
    इस्लामी संघ नेपालका अध्यक्ष मौलाना खुर्शिद आलम इस्लाहीले ‘मुस्लिमको जिम्मेवारी र महिलाको भुमिका’ बारेमा खुलस्त पार्नुभयो । उहाँले उक्त कार्यक्रममा उपस्थित सबैलाई मुस्लिमको जिम्मेवारी के हो र त्यसमा महिलाले कस्तो भुमिका खेल्न सक्छे भनेर प्रष्ट पार्नुभयो । उहाँले विभिन्न सहाबियातहरुले दावतको काममा निभाएका महत्वपूर्ण भूमिकाहरुको उदाहरण दिदै महिलाले आफ्नो स्थानमा रहेर दावतको काममा, सद्काको काममा र आफ्ना सन्तानको शिक्षादिक्षाको काम लगायतका यावत काममा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा पनि बताउनु भयो ।
    कार्यक्रमको मध्यान्तरतिर शबाना परवीनले ‘नयाँ पीढीको विकासमा महिलाको भूमिका’ भन्ने शिर्षकमा आफ्ना महत्वपूर्ण कुराहरु राख्नुभयो । उहाँले आफ्ना बालबच्चाहरुलाई सत्मार्गमा ल्याउन, सदव्यवहार सिकाउनमा एउटी महिलाले कस्तो भूमिका खेल्नुपर्छ भनेर प्रष्ट पार्नुभयो । 
    त्यसैगरी इस्लामी संघ नेपालका पूर्वाध्यक्ष मौलाना नजरुल हसन फलाहीले ‘इस्लाम पूर्णजीवन व्यवस्था’ को बारेमा प्रकाश पार्नुभयो । इस्लाम धर्म मात्र नभएर एउटा पुर्ण जीवन व्यवस्था हो र हामीले आफ्नो जीवनलाई  हाम्रा अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सुन्नत अनुरुप र कुरआनको निर्देशन बमोजिम व्यतित गर्नुपर्ने कुरामा उहाँले विशेष जोड दिनुभयो । त्यसैगरी इस्लामी संघ नेपालका महासचिव मौलाना अबुलकलाम फलाहीले ‘इस्लाममा सामुहिकताको महत्व’ बारेमा प्रकाश पार्नुभयो । कुनै पनि काम गर्नको लागि समूहको आवश्यकता पर्दछ र समुहमा काम ग¥यौँ भने हामीले जस्तोसुकै काम गर्न सक्छौँ भनेर उहाँले कुरआनका विभिन्न आयतहरुबाट प्रष्ट पार्नुभयो । त्यसैले इस्लाममा सामुहिकताको महत्व धेरै रहेको प्रष्ट पार्दै इस्लामी संघ नेपालले गर्दै आएको विभिन्न महत्वपूर्ण कामहरुको बारेमा पनि कार्यक्रममा सहभागी सबैलाई जानकारी गराउनुभयो । अन्त्यमा  शेहनाज बानुले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नुभयो ।
    उक्त एक दिने कार्यक्रम रोशनी तण्डुकारले संचालन गर्नुभएको थियो ।

 

Islami Sangh Nepal
Millat-e-Islamia Building , Ghantaghar,Kathmandu, Nepal
P.O. Box: 2896
Phone Number: +977-1-4226259, 4243722
Fax: +977-1-4256912
Email Address: [email protected], [email protected]